अनेमसंघ (क्रान्तिकारी) गण्डकीको अध्यक्षमा गीता शाही

संविधान रक्षा र कार्यान्वयनका लागि क्रान्तिकारी महिलाहरु अग्रमोर्चामा रहनूस : नेतृ भुषाल

जनसम्मत
असाेज ३, २०८१, बिहीवार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) निर्वाचित भएकी छन्।

बिहीबार पोखरामा सम्पन्न प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

जसको उपाध्यक्षहरुमा लिला बि.क. (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन्।

त्यसैगरि, सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) निर्वाचित भएकी छन्।

कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित भएकी छन्।

सह–सचिवमा हेमकुमारी सुनार ‘ज्योती’ (नवलपुर) निर्वाचित भएकी छन्।

बाँकी २ सह–सचिव पछि चयन गर्ने बताइएको छ।

निर्वाचन मण्डलले ९३ सदस्यको नाम घोषणा गरेको छ।

क्रान्तिकारी महिलाहरु अग्रमोर्चामा रहनूस : नेतृ भुषाल

नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालले संविधानको रक्षा र कार्यान्वयनका लागि अखिल क्रान्तिकारी महिलाहरु सचेत र सजग रहन अपिल गरेकी छिन्।

सम्मेलनलाई सम्बोधन गर्दै भुषालले संविधानमाथि चुनौति थपिएको उल्लेख गरिन्।

पार्टीकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी भुषालल जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त संविधानबारे बेमौसमको बाजा बजाइन थालेको भुषालको आरोप छ।

उनले भनिन्, ‘जनयुद्ध र जनआन्दोलनका जगमा प्राप्त संविधानको कार्यान्वयन र रक्षाका लागि गण्डकी प्रदेशका अखिल क्रान्तिकारी महिलाहरु अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त छु।’

आर्थिक समृद्धि र सामाजिक न्यायका लागि माओवादी केन्द्र प्रतिबद्ध रहेको उनले बताइन्।

माओवादी पार्टी आर्थिक क्षेत्रमा भ्रष्टाचारलाई निरुत्साहित गराई शुशासन कायम गर्ने पक्षमा रहेको प्रष्ट पारिन्।

भ्रष्टाचारको कारवाही प्रकृयालालाई अगाडि बढाउन खोज्दा विचौलिया र दलालका नाइकेहरुबाट ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई अपदस्त गरेको उनले सुनाइन्।

उनले भनिन्, ‘भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, सहकारी काण्ड आउन थाल्यो र ति काण्डहरुमा मुछिएका भ्रष्ट, दलाल, विचौलिया र कमिशनखोरहरुमाथि कारवाही हुन थाल्यो। तब, बुढानिलकण्ठ, बालकोटतिर दौडधुप र चलखेल हुन थाल्या थाल्यो। त्यसपछि, माओवादी नेतृत्वको सरकारलाई अपदस्त गरियो।’

भ्रष्टाचारीहरुलाई दायाँ–वायाँ राखेर हालको ओली सरकार बनेको उनको आरोप छ।

वर्तमान ओली सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने नेतृ भुषालले आरोप दाबी गरिन्।

अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापामगरले सम्मेलनमा सहभागी महिलाहरुलाई अग्रगमनका पक्षमा अग्रमोर्चामा रहन अपिल गरिन्।

अनेमसंघ (क्रान्तिकारी) ले स्थापनाकालदेखि नै महिलामाथि हुँदै आएको आर्थिक, सामाजिक र साँस्कृतिक विभेदविरुद्ध आन्दोलित रहेको उल्लेख गरिन्।

‘देशको हरेक परिवर्तनहरुमा महिलाहरुको उल्लेख भूमिका हुँदाहुँदै पनि देशमा पश्चगामी हावाहरु चल्ने क्रम जारी छ। यस्ता षडयन्त्र र चलखेललाई रोक्न क्रान्तिकारी महिला शक्तिहरुले संघर्षलाई थप उचाईमा लैजानु पर्नेछ’, नेतृ थापाले भनिन्।

पार्टीको गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले देशको ठूला–ठूला आमूल परिवर्तनहरुमा नेपाली महिलाहरुको सशक्त भूमिका रहेको उल्लेख गरे।

उनले थपे, ‘महिलाहरु क्रान्तिकारी शक्ति हुन्। महिलाहरु क्रान्तिका संवाहक हुन्छन्। परिवर्तनका आन्दोलन र जनयुद्धमा महिलाहरु नै अग्रमोर्चामा थिए। ति महिलाहरु क्रान्तिकारी शक्ति थिए। क्रान्तिकारी शक्ति जन्माउने पनि महिलाहरु नै हुन्।

 

उद्घाटन सत्रमा अनेमसंघ (क्रान्तिकारी) गण्डकी प्रदेश मातहतका जिल्ला संस्थापकहरुलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो।

हरिकला मरासिनी (बागलुङ), मञ्जु खनाल (कास्की), लिला भट्टराई (लमजुङ), सिर्जना गैरे (नवलपुर), चिनिमाया श्रेष्ठ (तनहुँ), सम्झना कुमाल (स्याङ्जा) यामकुमारी पुन (म्याग्दी), पुष्पा कुमाल (गोरखा), सम्झना कुमाल (स्याङ्जा) लाई सम्मान गरिएको हो।

त्यस्तै, जेलब्रेकरहरु कमला नहर्की, निता बि.क. र सञ्जु अर्याललाई सम्मान गरिएको थियो।