लिग–२ को त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो

जनसम्मत
असाेज ३, २०८१, बिहीवार

आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल ओमानसँग पराजित भएको छ।

गुल्सन झाले अर्धशतकसहित ५ विकेट लिएपनि नेपाल ओमानसँग पराजित भएको हो।

क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो।

ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए।

नेपालका गुल्सन झाले ५ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए।

यस्तै, गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए ।

ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए।

जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ।

असोज १० गतेसम्म हुने शृंखलामा नेपाल, ओमान र क्यानडा सहभागी छन्।

श्रृंखलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो।

क्यानडा ९ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

नेदरल्यान्ड ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।

यो श्रृंखलामा नेपालले अब असोज ६ गते क्यानडासँग र असोज ८ गते ओमान खेल्नेछ।