विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीताकुमारी साहुले नेपालगन्ज १० किमि ‘नाइट रन’को उपाधि जितेका छन्।
संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्रीकालीन दौडमा पालले ३१ मिनेट ०७ दशमलव २१ सेकेण्डमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्।
यसमा सशस्त्र प्रहरी बलका नेपाल एपीएफ क्लबका सन्तोषविक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए।
सन्तोषले ३२ मिनेट ४८ दशमलव ४४ सेकेण्डमा निर्धारित दुरी पूरा गरे।
किरणले ३२ मिनेट ५४ दशमलव ६३ सेकेण्डमा दौड पूरा गरे।
पहिलो बनेका पालले २५ हजार नगद पुरस्कार पाउँदा सन्तोषले १५ र किरणले १० हजार नगदसहित पदक पुरस्कार पाए।
धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन ’दशौंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा १० किलोमिटर रात्री दौड भएको थियो।
यसैगरी, महिला खुलातर्फ बाँके नरैनापुरकी गीताकुमारी साहु च्याम्पियन बनिन्।
उनले ५१ मिनेट ६ दशमलव ४८ सेकेण्डमा दुरी पूरा गर्दै पहिलो बनिन्।
त्यसैगरी, कोहलपुरकी स्वस्तिका शाहीले ५९ मिनेट ०६ दशमलव ३७ सेकेण्डमा दुरी पूरा गरि दोस्रो भइन्।
सलिना थारुले १ घण्टा ०६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तेस्रो भइन्।
महिलातर्फकी विजेता गीताकुमारीले २५ हजार नगद पाउँदा स्वस्तिकाले १५ हजार र सलिनाले १० हजार नगदसहित पदक पुरस्कार पाए।
भेट्रान पुरुषतर्फ रैवत दाहाल पहिलो, भरत श्रेष्ठ दोस्रो र महेन्द्र बज्राचार्य तेस्रो बने।
यसअघि, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालीन दौडको उदघाटन गरेका थिए।