प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

पत्रकार अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) ले संयुक्त रुपमा गोपालदास पत्रकारिता पुरस्कार पाउँदैछन्

जनसम्मत
असाेज ५, २०८१, शनिबार

प्रेस काउन्सिल नेपालले विभिन्न पुरस्कार घोषणा गरेको छ।

आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कारको घोषणा गरेको हो।

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ।

पत्रकारिताका विभिन्न विधामा ३ दशकदेखि सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लागेका

पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो।

यो पुरस्कारको राशि १ लाख ५१ हजार रुपैयाँ छ।

पत्रकारिता तथा आमसंचार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलो पटक हो।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो।

गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो।

शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुन्।

यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देलले पाउँदैछन्।
उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ छ।

काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो।

पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन्।

उनले विभिन्न संचारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयकेन्द्रीत पत्रकारिता गर्दै आएका छन्।

उनी हाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्य समेत हुन्।

यसैगरी, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमले पाउने भएको छ।

काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो।

स्थापनाको ५५ वर्ष पुगेको अवसरमा असोज ६ गते आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काउन्सिलले पुरस्कारहरु प्रदान गर्दैछ।

सोही दिन काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान समेत गर्ने निर्णय गरेको छ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पेसागत मर्यादा, प्रतिष्ठामा आँच नआउने गरी विश्वसनीय पत्रकारिता विकास गर्न नेपाली संचारजगतले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

मिडियामा युट्युवसहित सामाजिक सञ्जालको बाक्लो उपस्थिति भइरहेको सन्दर्भमा रचनात्मक पत्रकारिताको प्रयोगमार्फत यो क्षेत्रलाई बलियो बनाउन संचार क्षेत्र र सम्बद्ध पक्ष गंभीर भएर जुट्नुपर्ने खाँचो औँल्याए।

हेरौं, प्रेस काउन्सिल नेपालको विज्ञप्ति