नेपाली पत्रकारिताको भूमिका प्रशंसनीय छ : राष्ट्रपति पौडेल

संचारमन्त्री पृथ्बीसुब्बा गुरुङ भन्छन्, ‘अब बन्ने कानुनमा मिडिया निरपेक्ष स्वतन्त्र र स्वायत्तसँगै मर्यादित बनाउने कुरा समावेश हुन आवश्यक छ’

जनसम्मत
असाेज ७, २०८१, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन्।

प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसंचार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको उल्लेख गरे।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पु¥याउने कामका लागि शासन संचालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाइँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने दाबी गरे।

यही कारणले पत्रकारितालाई चौथो अंगका रूपमा सम्मान प्राप्त भएको स्पष्ट पारे।

उनले भने, ‘जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना संप्रेषणबाट मात्र राज्यको चौथो अंगको रूपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ।

उनले नेपाली पत्रकारहरू सचेत र सजग भएको विश्वास जनाए।

उनले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीनवटै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरे।

उनले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयमले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको जनाए।

उनले भने, ‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो।’

राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाईन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तीव्र सूचना प्राप्त गर्ने आममानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको उल्लेख गरे।

सत्य–तथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसंचार माध्यमको व्यवसायिक र प्राथमिक दायित्व भएको उनले स्मरण गराए।

उनले न्यू मिडिया र बढ्दो सामाजिक सञ्जालसँगै तीव्र सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यकता भएको औंल्याए।

यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएको अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नुपर्ने उनले प्रष्ट पारे।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संचारसम्बन्धी केही कानुन समयानुकुल नभएकाले यसमा संसोशन आवश्यक रहेको औंल्याए।

सरकार अहिले सामाजिक सञ्जालकोे संचालन र व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा लागेको उनले बताए।

सार्वजनिक सेवा प्रसारण ऐन पारित भइसकेको र मिडिया काउन्सिल विधेयक छलफलको क्रममा रहेको उनले प्रष्ट पारे।

उनले भने, ‘अब बन्ने कानुनमा मिडिया निरपेक्ष स्वतन्त्र र स्वायत्तसँगै मर्यादित बनाउने कुरा समावेश हुन आवश्यक छ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नकारात्मकता र गालीको संस्कृति हटाएर रचनात्मक र सहकार्यको विकासमा लाग्दा मात्र देशमा हरियाली आउने बताए।

‘पत्रकारिता बलियो भए देशमा अस्थिरता हटाउन बल पुग्नेछ र यसले पत्रकारिता फस्टाउनेछ’, बस्नेतको भनाई छ।

समाचार/तस्बीर स्रोत : प्रेस काउन्सिल नेपाल