नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
आज (मंगलबार) बिहान काठमाण्डौ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्।
एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो।
उनलाई फूल र बेलुनले सजिएको प्रहरीको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो।
एरिकाले चीनमा भएको २० औं एशिया सिनियर कराँते च्याम्पियनसीपमा महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन्।
एशियन च्याम्पियनसीपको सिनियरतर्फ नेपालले जितेको यो पहिलो पदक हो।
एरिका स्वर्ण पदकको प्रतिस्पर्धामा भने भियतनामकी नाखोन थी नुयेनसँग पराजित भएकी थिइन्।