एएफसी यु–२० मा नेपालमाथि उज्बेकिस्तानको गोलवर्षा

नेपाल उज्बेकिस्तानसँग ६ गोलले पराजित, २० मिनेटदेखि नेपाली टोली १० खेलाडीमा सीमित

जनसम्मत
असाेज ९, २०८१, बुधबार

एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग लज्जाजनक रपमा पराजित भएको छ।

न्यु ताइपेई सिटीमा आज (बुधबार) भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि ६–० को गोलवर्षा गरायो।

खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो।

सबिनले उज्बेकिस्तानका खेलाडीको प्रहार हातले रोकेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।

त्यसपछि, उज्बेकिस्तानले पेनाल्टी पाएको थियो।

नेपालका गोलकिपर जियारथ शेखले उज्बेकिस्तानका उरिनबोएभको प्रहार भने रोके।

समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो।

यसैगरी, दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो।

नेपाल ३ खेलमा ३ अंकसहित तालिकाको चौथो स्थानमा छ।

उज्बेकिस्तान २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ।

अब, नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार बहराइनसँग खेल्नेछ।

 

तस्वीर : एन्फा