पोखरा–२२ मा पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानबारे सरोकारवालासँग छलफल चलेको छ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले छलफल चलाएको हो।
छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको छ।
सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी पक्षबारे जानकारी गराए।
सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले भने, ‘बालश्रम न्यूनीकरणका निम्ति उद्योग वाणिज्य संघले निभाएको भूमिका प्रशंसनीय छ।’
निजी क्षेत्रले सामाजिक उत्तरदायित्वका साथै समाज सुधारको क्षेत्रमा पनि योगदान गर्नुपर्ने उनको भनाई थियो।
पोखरा–२२ का जनप्रतिनिधिसहित टोल विकास संस्था, आमा समूह, बाल क्लब एवं अन्य नागरिकहरुको उपस्थिति थियो।
किडासाको सहयोगमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष संजिव गुरुङले बालबालिकाको हितका लागि वडाले बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए।
सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका तथा भूमिहीन नागरिकको बस्तीमा सिकाई केन्द्रसमेत संचालन गर्दै आइरहेको छ।
ती ठाउँहरुमा रहेका बालबालिका तथा युवाहरुलाई केन्द्रीकृत गरी बाल तथा युवा क्लब पनि गठन गरी रचनात्मक कार्यसमेत हुँदै आएको केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनले बताए।
पोखराका विभिन्न ८ ठाउँमा रहेका ती केन्द्रहरुमार्फत् बालबालिकाहरुलाई गृहकार्य गर्न सघाउने तथा क्षमता अभिवृद्धिका लागि तालिम र विविध कार्य गरिँदै आएको उनको भनाई छ।
यही उपक्रममा केन्द्रको कम्युनिटी हब परियोजनाअन्तर्गत गठित ९ वटै बाल क्लबका ३२ जना बालबालिकाहरुलाई आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिइएको छ।
सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालको प्रशिक्षण रहेको कार्यक्रमको संयाजन परियाजना सुभरभाइजर अन्जना कोइरालाले गरेकी थिइन्।
केन्द्रको पहलमा गठन भएका ८ वटा सिकाई केन्द्रमा गठन भएका युवा क्लबका पदाधिकारीका निम्ति दुई दिने वृत्ति विकास तालिमसमेत प्रदान गरिएको छ।
तालिममा व्यक्तिगत विकास, उद्यमशीलता, स्वयंसेवाको अवधारणाबारे भक्तराज रसाइलीले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा ६४ जनाको सहभागिता थियो।