‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ पूर्ण रूपले संचालनमा आउँछ

निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको अनुगमन निरीक्षण गरेपछि संचारकर्मीसँगको कुराकानीमा संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘आवश्यक थप बजेटको व्यवस्था गरी प्रेसलाई पूर्ण रुपमा संचालनमा ल्याउने योजना बनाइन्छ’

जनसम्मत
असाेज १०, २०८१, बिहीवार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा संचालन गर्ने बताएका छन्।

निर्माण एवं व्यवस्थापनको चरणमा रहेको उक्त प्रेसको आज (बुधबार) अनुगमन निरीक्षणपछि संचारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापन गरी पूर्ण रूपमा संचालनमा ल्याउने गरी योजना बनाउने बताए।

‘मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण रूपमा चलाउने गरी अघि बढ्नेछ, प्रेस संचालन गर्न देखिएका बाधा, तगारा जेजे छन् हटाउँदै अघि बढ्नेछौँ’, उनले भने।

प्रेस उपकरण खरिदमा देखिएको विविध समस्याबारे अख्तियारबाट अनुसन्धान भइरहेको विषयलाई चाँडै टुंग्याएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए।

मन्त्री गुरुङले निर्माणाधीन गोदाम भवनलगायत अन्य निर्माणाधीन संरचना पूरा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी चाँडै बजेट व्यवस्थापनमा लाग्ने जनाए।

उनले भने, ‘आफ्नै मुलुकमा सुरु गरिएको सेक्युरिटी प्रेस निर्माणलाई निरन्तरता दिनुपर्छ, यसका लागि अर्थ मन्त्रालयसँगको समन्वयमा चालु आर्थिक वर्षमा केही र आउँदो आवमा नीति कार्यक्रम बनाएरै बजेट विनियोजन गरी ‘फूलफेज’मा संचालनमा ल्याइनेछ।’

उनले प्रेसमा रहेका मेसिनको संरक्षण गरी संचालनार्थ जनशक्ति व्यवस्थापन गर्ने बताए।

मन्त्री गुरुङले उक्त प्रेस पूर्ण रूपमा संचालनमा ल्याएपछि पहिलो चरणमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र छाप्ने गरी दोस्रो चरणमा राहदानी र बैंक नोट छाप्ने गरी योजना बनाइने बताए।

उनले भने, क्रमशः नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै छपाई यही गर्नुपर्छ।’

सूचना प्रविधि पार्क (आइटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो।

उक्त प्रेसको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम बजेट अभावमा एक वर्षदेखि रोकिएको थियो।

केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगेपनि रङ रोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको हो।

केन्द्रमा आवश्यक गोदाम घरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मत सम्भारको काम हुँदै आएको थियो।

५० मिटर लम्बाई र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चापदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ।

गत आर्थिक वर्षमा बजेट विनियोजन नभएका कारण थप भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको हो।

यसअघि, केन्द्रमा इराकबाट ल्याइएका २ उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाई गरिएको थियो।

हाल, जडित २ मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिनेछ।

अघिल्लो आर्थिक वर्षको ७३ करोड रुपैयाँको बजेटबाट उक्त मेसिन तथा केही सूचना–प्रविधिका सामग्री खरिद गरिएको हो।

केन्द्रमा १ थान ‘ड्राइ कटिङ मेसिन’ छ।

अन्य ३ थान मेसिन जडान गर्न बाँकी रहेको जनाइएको छ।

केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि ५ वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटी पार्कमा प्रेसको काम सुरु गरिएको हो।

प्रेसको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा. १ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन भई कामको सुरुआत गरिएको हो।

केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिम कार्डलगायत सुरक्षित छपाईका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो।

पार्कभित्रै खानेपानीका लागि १/१ लाख लिटरका २ वटा खानेपानीका ट्यांकी निर्माण, छापाखानाका लागि आवश्यक पर्ने ४ ठूला जेनेरेटर जडान तथा उक्त जेनेरेटर संचालन गर्ने इन्धन भण्डारका लागि ३ लाख लिटर क्षमताको अन्डरग्राउन्ड डिजेल ट्यांकी निर्माण सम्पन्न भइसकेका छन्।

प्रेस संचालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रूपमा बाहिरिने १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ।

केन्द्रका लागि २ सय प्राविधिकसहित करिब १ हजार जनशक्तिको आवश्यकता पर्ने जनाइएको छ।

विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क निर्माण कार्य सम्पन्न भई २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

कूल २ सय ५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र २ ठुला व्यापारिक प्रशासनिक भवन तथा ४ सुविधासम्पन्न आवासीय भवनलगायत ९ भवन थियो।

तत्कालीन समयमा दक्षिण एसियामै नमुना र ठूलो मानिएको यो पार्क संचालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो।

हाल, एक कर्मचारीले प्रेस भवन रेखदेख गरेर बसेका छन्।

प्रशासन डट कममा समाचार छ।
तस्बीर : एजेन्सी