पोखरामा पर्यटकलाई नि:शुल्क बसोबास र खानपानको व्यवस्था

पर्यटन दिवसका अवसरमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका ३ विदेशी पर्यटकलाई होटल संघ पोखरा नेपालले पुरस्कारस्वरुप निशुःल्क बसोबास र खानपानको व्यवस्था मिलाएको हो

जनसम्मत
असाेज ११, २०८१, शुक्रबार

४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका ३ पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ।

पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका ३ विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निशुःल्क बसोबास र खानपानको व्यवस्था पुरस्कारस्वरुप मिलाएको जानकारी दिए।

अतिथि रिसोर्ट एण्ड स्पाः, ग्लेसियर होटल र होटल क्राउन हिमालयजले संघका तर्फबाट ती पर्यटकलाई बसोबास र खानपानको व्यवस्था मिलाएका हुन्।

पर्यटन दिवसका अवसरमा पोखरा आउने सबै पर्यटकलाई संघले होटलका कोठाको प्रकाशित दररेटमा २० प्रतिशत छुटको समेत व्यवस्था गरेको थियो।

हवाई मार्गबाट पोखरा आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम भने प्रतिकूल मौसमका कारण प्रभावित हुन पुग्यो।

स्थलमार्गबाट आउने पर्यटकलाई राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कमा बाजागाजासहित स्वागत गरिएको हो।

पोखरा पर्यटन परिषद्को अगुवाईमा तय भएका पर्यटन दिवसका ४ दिवसीय कार्यक्रम अन्तर्गत, रेवान पोखराद्वारा मिनी सडक महोत्सव, भिटोफ गण्डकीद्वारा घरबास कार्यक्रम, परिषद्द्वारा टक सो, नारा पोखराद्वारा जलयात्रा, एनटीभीएद्वारा पर्यटक सवारीको र्याली, टान गण्डकीद्वारा पदयात्रा, नाट्टा गण्डकीद्वारा रक्तदान तथा पर्यटकको स्वागत र पर्यटन मन्त्रालय गण्डकीलगायत विभिन्न संघसंस्थाबाट आरती तथा पर्वतीय दौड जस्ता कार्यक्रम समेटिएको छ।

‘पर्यटन र शान्ति’ भन्ने मूल नारासाथ आयोजित पर्यटन दिवसका कार्यक्रम शनिबार सकिनेछन्।