पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई मुख्यमन्त्री पाण्डेको निर्देशन

‘चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस्’

जनसम्मत
असाेज १४, २०८१, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन्।

पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन्।

‘चाडपर्वको समय छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले विपद्का कारण राजमार्ग अवरुद्ध छन्। यस्तो समयमा सेवा सरल, सहज र सहुलियत बनाउनुपर्छ।  यो संवेदनशील हुने बेला हो। मौका छोप्ने बेला होईन।’

पोखरासहित गण्डकी प्रदेशको बिभिन्न जिल्लाका मुख्य सडक वर्षापछिको बाढी पहिरोले क्षति पु¥याउँदा यातायात आउ–जाउ सहज छैन।

पृथ्वीराजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा काठमाण्डौँ–पोखरा हवाई यात्रामा चाप बढेको छ।

यात्रुहरुको गुनासो बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले एअरलाइन्स कम्पनीहरुलाई माथिल्लो तहमा सहजीकरण गरेर तत्काल गुनासो सुनुवाई गर्न सुझाव दिए।

‘एअरलाइन्स कम्पनी, नागरिक उड्ययन प्राधिकरण, संघीय सरकार मातहतका निकायमा सहजीकरण पनि गरुँला’ मुख्यमन्त्री पाण्डेको निर्देशन थियो, ‘तपाईहरुले यहाँबाट आफूले सक्ने सहजिकरण गर्नुहोस्।’

अहिले पोखरा–काठमाण्डौँ भाडा ५ हजार ९ सयसम्म छ।

यसअघि, ४ हजार ४ सय थियो।

सेवा सहज बनाउनेबारे मुख्यमन्त्री कार्यालयमा सोमवार आयोजित छलफलमा मुख्यमन्त्री पाण्डेले नागरिक उड्ययन प्राधिकरणलाई पनि सेवा सहज बनाउन सहजिकरण गर्न सुझाव दिए।

‘चाडपर्वको बेला सकेसम्म फ्लाईट थपेर सेवालाई अझै सहज बनाउनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने।

आइतवार काठमाण्डौँबाट पोखराका लागि उडेको जाहज लामो समय होल्ड गरी राती ११ः३० बजे पुन काठमाण्डौँ फर्किएको थियो।

यस्तो अवस्था आउँदा समयमै यात्रुलाई जानकारी दिन मुख्यमन्त्री पाण्डेले एअरलाइन्सहरुलाई सचेत गराए।

विपद् र चाडपर्वका बेला फ्लाईट थप गर्नुपर्नेमा मर्ज हुने गरेको गुनासो आएको उनले सुनाए।

फ्लाईट घटाएर टिकट नबढाउन उनको निर्देशन थियो।

विपद्को समयमा सेवा दिँदै आएका कम्पनीहरुलाई नागरिक उड्ययन प्राधिकरणको तर्फबाट हुन सक्ने सहुलियतका लागि पनि ध्यान दिईनुपर्नेमा मुख्यमन्त्रीले जोड दिए।

एअरलाइन्स कम्पनीहरुले ‘सिस्टम कन्ट्रोल’ यहाँबाट नहुँने हुँदा यसबारे केन्द्रीय कार्यालयसँग समन्वय गरेर सेवालाई सक्दो सहज बनाउने बताएका छन्।

पोखरामा यति, बुद्ध र श्री एरलाइन्सले सेवा दिँदै आएका छन्।