सर्वोच्चको फैसलाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

महासचिव रोसन पुरीले विज्ञप्ति जनाउँदै सर्वोच्चको फैसलामा ध्यानाकर्षण भएको जनाएका हुन्।

जनसम्मत
असाेज १५, २०८१, मंगलवार

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाका सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतबाट आएको फैसलाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव रोसन पुरीले विज्ञप्ति निकाल्दै सर्वोच्चको फैसलामा ध्यानाकर्षण भएको जनाएका हुन्।

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई आइतबार सर्वोच्चको ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले कारागार चलान गर्ने फैसला गरेको थियो।

महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वातन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने उल्लेख गरेको छ।

माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च आफैँले प्रतिवेदन उठाई निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेपछि महासंघले चिन्ता र चासो व्यक्त गरेको हो।

‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन÷प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित संचार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र संचारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्चाउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ।’

संचारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानूनको अधीनमा रहेर प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्छ भन्ने मान्यता महासंघको रही आएको छ जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुनु हुँदैन।’

‘संचारमाध्यमले माफी मागेर गलत सामग्री हटाइ सकेको अवस्थामा सम्मानीत सर्वोच्च अदालतले आफैँले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेकोप्रति महासंघको गंभीर चासो र चिन्ता छ। महासंघ कुनैपनि फैसला वा निर्णय संचार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा अगाडि भनिएको छ।

नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गंभीर हुन महासंघले आग्रह गरेको छ।

पत्रकार तथा संचारमाध्यमले पनि पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सामग्री संप्रेषण गर्नुपर्नेमा महासंघले सधैँ जोड दिँदै आएको विज्ञप्तिमा जनाएको छ।

हेरौं, महासंघको प्रेस विज्ञप्ति