गण्डकी सरकारबाट उद्धार कोषमा ५० लाख सहयोग

प्रदेशमा भएको क्षति मूल्यांकन गर्न समिति गठन

जनसम्मत
असाेज १७, २०८१, बिहीवार

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन्।

गतसाता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गरेको छ।

त्यसैगरी, वेपत्ताको खोजी, घाईतेहरुको शीघ्रः स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको छ।

‘विपद्का कारण काठमाडौ उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो विपत्तिको सामना हामीसबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’, मुख्यमन्त्री पाण्डेले भने।

यसअघि, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गरेको थियो।

साथै, प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्दार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ।

यस्तै, बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सीडीई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप–सचिव प्रविण ढकाल सदस्य रहनेगरी समिति गठन गरिएको हो।

समितिले प्रदेशभर विपद्बाट भएको क्षतिको मूल्यांकन गरी काम सुरु गरेको १५ दिनभित्र सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।