पोखराको कास्कीकोटमा राष्ट्र शान्तिको कामना

बडा दसैंको घटस्थापनादेखि नवमीसम्म नवदुर्गा महोत्सव तयारी

जनसम्मत
असाेज १६, २०८१, बुधबार

पोखरा उपत्यकाको कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ।

गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो।

परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको वाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलिपविक्रम शाहीले बताएका छन्।

घटस्थापनाको दिन असोज १८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डीपाठ दुर्गाकवज हुने धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए।

त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुँदै आएका छन्।

यस वर्षको बडा दसैंको १० दिनसम्म कोतघरमा पाणा पुजारीसहित राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो।

तान्त्रिक तथा वैदिक पूजा हुने त्रिपाठीले बताए।

बडा दसैंको फूलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पूजा गरिने त्रिपाठीले बताए।

उनले भने, ‘फुलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रदर्शन गरिने कार्यक्रम छ।

अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पूजा र नवमीमा पञ्चवली दिने गरिन्छ। दशमीमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालिकामा फूलपत्रसहित पूजा विर्सजन हुनेछ।

कास्कीकोटमा नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताए।

कास्कीकोटमा दसंैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरूलगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिमबहादुर कार्र्कीले बताए।

यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्छ।

गुप्तकालिका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैंमा विशेष पूजा हुँदै आएको छ।

यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको किंवदन्ती छ।