गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।
नवलपुरको कावासोतीस्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पूर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवा पुग्ने बताएकी हुन्।
शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ। यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्नेछ।’
कावासोती क्षेत्रका जनताले विगतमा भोग्नुपरेको खानेपानीको समस्याको उनले स्मरण गरिन्।
मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थिति आएको बताइन्।
कावासोती खानेपानी संस्थाले स्थापनाकालदेखि नै आफूलाई अब्बल सावित गर्दै आइरहेको उल्लेख गरिन्।
उनले यसलाई समयानुसार उपभोक्ताको हकहितमा लाग्न सुझाइन्।
‘कावासोती क्षेत्रको विगत स्मरण गर्दा खानेपानीको हाहाकार थियो। घण्टौँ लगाएर कुवा धाएर पानी लिएर आउनुपथ्र्यो। अहिले त्यो अवस्था छैन। घर–घरमा धारा जोडिएका छन्। यो संस्थाकै अब्बल कार्यको परिणाम हो’, उनले भनिन्, ‘उपलब्ध स्रोत साधन एवं प्रविधिलाई थप सुदृढ बनाउदै उपभोक्ताको सर्वोपरी हितलाई केन्द्रबिन्दुमा राख्दै अघि बढ्न शुभकामना ब्यक्त गर्दछु।’
जल नै जिवन भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै यसको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो।
‘जल केवल पिउनका लागि मात्रै होइन, यसको अपरिहार्यता कृषि, उर्जा लगायतका क्षेत्रमा पनि छन्। जल नै जिवन भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ’, उनको जोड थियो।