एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फाइनलमा भोली (शनिबार) कर्णाली यश्विस र ललितपुर क्वीन्स भिड्ने भएका छन्।
लिग चरणका खेल सकिएसँगै शीर्ष २ स्थानमा रहेका कर्णाली र ललितपुर उपाधिका लागि भिड्ने भएका हुन्।
कर्णाली यश्विसले अपराजित रहँदै ललितपुर क्वीन्सविरुद्ध एभरेस्ट महिला भलिबल लिगको फाइनल खेल्ने भएको हो।
शुक्रबार राति कर्णालीले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो । हारले काठमाडौं फाइनल पुग्न सकेन ।
अघिल्लो खेलमा ललितपुरले चितवन शक्तिलाई हराएपछि काठमाडौंलाई फाइनल पुग्न जित आवश्यक थियो।
तर, पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको काठमाडौंले त्यसलाई निरन्तरता दिन सकेन।
अन्ततः ३–१ सेटले खेल गुमायो।
त्यसपछि, २५–१४, २५–२३, २५–१२ ले लगातार सेट जितेर कर्णाली यश्विस (१३) ले आफूलाई उपाधि दाबेदार बनायो।
जितपछि कर्णालीको ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनल भिड्ने भएको हो।
त्यस्तै, ललितपुरको ५ खेलबाट १० अंकसहित शीर्ष दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो।
कर्णालीसँगको हारसँगै तेस्रो स्थानमा रहँदै काठमाडौं फाइनलको दौडबाट बाहिरियो।
फाइनल खेल शनिबार दिउँसो साढे ५ बजे हुने तालिका छ।