कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिग

ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै कर्णाली (इडब्ल्युभीएल) च्याम्पियन बनेको हो

जनसम्मत
असाेज १९, २०८१, शनिबार

कर्णालीले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार राति भएको खेलमा कर्णाली यश्भिसले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

सुरुआती २ सेट २५–१७, २५–२० ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका २ सेट भने १२–२५, १८–२५ ले गुमायो।

निकै रोमाञ्चक पाँचौं तथा निर्णायक सेटमा १५–१३ ले विजयी हुँदै कर्णाली च्याम्पियन बन्यो।
कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो।

उपाधिसँगै कर्णालीले ७ लाख रुपैयाँ जित्यो।

उपविजेता ललितपुरले ३ लाख रुपैयाँ जित्यो।

लिग चरणबाट कर्णाली शीर्ष र ललितपुर दोस्रो स्थानमा रहँदै फाइनलमा आमने–सामने भएका हुन्।