४३ युट्युब च्यानललाई कारबाही गर्न सिफारिस

३ अनलाइन संचारमाध्यम कालोसूचीमा, यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता, २६९ सामग्रीको स्वअनुगमन

जनसम्मत
असाेज २१, २०८१, सोमबार

प्रेस काउन्सिल नेपालले ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ।

त्यसैगरी, ३ वटा अनलाइन संचारमाध्यमलाई कालोसूचीमा राखेको छ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न संचारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो।

गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै आएको छ।

काउन्सिलका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन संचारमाध्यमलाई भएका कारवाहीबारे जनाइएको छ।

‘आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ३ वटा अनलाइन संचारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छ’, प्रेस काउन्सिलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

प्रेस काउन्सिलले संचारमाध्यममा सम्प्रेषित समाचारहरू पत्रकार आचारसंहिताविपरीत भएको भनी प्राप्त हुने उजुरीको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आएको छ।

यसक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा ७६ उजुरी दर्ता गरिएको थियो।
२६९ सामग्रीको स्वअनुगमन गरिएको थियो।

हाल युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीका विषयमा उजुरी र गुनासा बढ्दै गएको प्रेस काउन्सिलले जनाएको छ।

गएको साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

‘मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल युट्युब च्यानलबाट आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा सामाजिक सञ्जाल युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

काउन्सिलको निर्देशनलाई अनदेखा गर्ने त्यस्ता च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ।

काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा संचारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ।

त्यस्ता संचारमाध्यम राज्य तहबाट पाइने कुनैपनि सुविधा पाउनबाट वञ्चित हुनेछन्।

कालोसूचीमा पर्ने संचारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन्।

विज्ञप्तिमा मिडियाअन्तर्गत संचालनमा रहेका तर आचासंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन संचारमाध्यमलाई हटाउन निर्देशन दिइ सचेत गराइएको छ।

अन्य ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ।

त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ।

विधिवत रुपमा ंसंचालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटक–पटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ।

विभिन्न खालका कारवाहीमा परेका सबै संचारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ।

हेरौं, काउन्सिलको प्रेस विज्ञप्ति