‘हुलाक सेवाको विकासमा सरकार अग्रसर छ’

१५० औं विश्व हुलाक दिवसमा हुलाक टिकट प्रदर्शनी

जनसम्मत
असाेज २३, २०८१, बुधबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको बताएका छन्।

मन्त्री गुरुङले यसको विकासका लागि सरकार अग्रसर रहेको बताएका छन्।
१५० औं विश्व हुलाक दिवसको अवसरमा आज (बुधबार) भिडियो सन्देश दिदँै उनले सो कुरा बताएका हुन्।

विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको उनले बताए।

नेपालले सन् १९५६ जुलाई ११ मा संघको सदस्यता लिएको जानकारी दिए।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गरिन्।

हुलाक सेवा विभागद्वारा आज (बुधबार) आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमको सचिव अर्यालले शुभारम्भसमेत गरिन्।

उनले हुलाक सेवालाई थप सूचना प्रविधिमैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण वृद्धि गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘हुलाक सेवालाई अझ सदृढ बनाउन मन्त्रालयले साथ दिनेछ। यसका लागि हुलाक विभागका कर्मचारीलाई थप सिर्जनशील भएर सेवा प्रदान गर्न म आग्रह गर्दछु।’

नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा विभागले हुलाक टिकट प्रदर्शन आयोजना गरेको हो।

प्रदर्शनीमा नेपाललगायत विश्वभरका हुलाक टिकट राखिएका छन्।

सो अवसरमा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले नेपालमा वि.ंस. १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौती सामना गर्दै आउनुपरेको उल्लेख गरे।

हुलाक सेवा विभागका निर्देशक विशाल सापकोटा, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्ररवी श्रेष्ठ, नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका अध्यक्ष टंकप्रसाद हुमागाईंलगायतले हुलाक सेवाको विगत, वर्तमान र भविष्यबारे धारणा राखेका थिए।

एकदिने प्रदर्शनीमा मिलनचन्द्र जोशी, मन्दिरा प्रधानाङ्ग, रिदिमा शाक्य, दिनेशराज मास्के, दीपेन्द्ररत्न शाक्य, किशोर शर्मालगायतले टिकट संकलन गरेका छन्।

गोरखापत्र अनलाइनमा समाचार छ।

तस्बीरः रासस