स्याङ्जामा २ पत्रकारसहित ८ जनालाई सम्मान

गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो

जनसम्मत
असाेज २३, २०८१, बुधबार

स्याङ्जामा २ पत्रकारसहित ८ जनालाई सम्मान गरिएको छ।

१५० औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय स्याङ्जाले उनीहरुलाई सम्मान गरेको हो।

हुलाकले गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो।

पत्रकारलाई सूचना र संचारको क्षेत्रमा हुलाकलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो।

यस्तै, पत्र वितरक डिलबहादुर गुरुङ, हल्करा दिवाकर न्यौपाने, प्रभाकर शर्मा, सूर्यप्रसाद अर्याल, गीता पाण्डे, केबुल नेटवर्कका लालप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उनीहरुलाई सम्मान गरेकी हुन्।

प्रजिअ नेपालले कार्यक्रममा बोल्दै सबै हुलाक कार्यालय समयअनुसार गतिशील हुनुपर्नेमा जोड दिइन्।

विगतमा मिडिया, इन्टरनेट नहुँदा हुलाक महत्वपूर्ण भएको बताउँदै नेपालले अब हुलाकको पनि क्षेत्र र कार्य परिवर्तन हुनुपर्ने उल्लेख गरिन्।

कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेसन प्रबन्धक रमेश गोदारलगायतले मन्तव्य राखे।

हुलाक कार्यालय स्याङ्जाले १८ लाख ४४ हजार ८५४ राजस्व संकलन गरेको कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए।