पोखरामा दसैँका दिन निःशुल्क बस सेवा

असोज २६ गते बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म १८ बसले निःशुल्क सेवा दिनेछ

जनसम्मत
असाेज २३, २०८१, बुधबार

पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी) का दिन निःशुल्क बस चलाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसाय कम्पनीहरूको सहकार्यमा असोज २६ गते बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क बस सेवा दिइने भएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ७ वटा रुटमा १८ गाडीबाट यो सेवा दिइने जानकारी दिए।

सो दिनका लागि पोखरा महानगरपालिकाले बसका चालक, सह–चालकका लागि भत्ता उपलब्ध गराउनेछ।

टीकाको दिन सवारी कम चल्ने र सर्वसाधारणलाई सास्ती हुने भएकाले प्रशासनको अग्रसरतामा यस्तो निर्णय गरिएको हो।

सो दिनका लागि व्यवसायीले आफ्ना गाडी निःशुल्क उपलब्ध गराउने छन्।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीले ३ वटा बसमार्फत फेदीदेखि हेमजा, हरिचोक हुँदै पृथ्वीचोकसम्म सेवा दिनेछ।

स्थानीय यातायात कम्पनीले कोत्रेदेखि पृथ्वीचोकबाट चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म बस चलाउनेछ।

पोखरा यातायात प्रालिले ३ वटा रुटमा ३ वटाका दरले ९ सवारीसाधनमार्फत निःशुल्क सेवा दिनेछ।

पोखरा यातायात प्रालिले लामाचौर, बगर, महेन्द्रपुल, बिरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै लेकसाइडसम्म र काहुँखोला पृथ्वीचोक हुँदै हल्लनचोकसम्म बस चलाउनेछ।

बेगनास पोखरा यातायात प्रालिले २ वटा रुटमा २ वटाका दरले ४ सवारीमार्फत सेवा दिनेछ।
यसले बेगनासताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपार्क, र राजाको चौतारा, सातमुहाने, खुदी हुँदै बागलुङ बसपार्कसम्म सेवा दिनेछ।