पत्रकारमाथिको आक्रमण र तोडफोडप्रति महासंघको ध्यानाकर्षण

रौता स्प्रिङ वाटर प्रा.लि.द्धारा उत्पादित खानेपानीको शिलप्याक जारभित्र कुखुराको प्वाँखलगायतका अखाद्य वस्तु भेटिएको विषयवस्तुमाथि समाचार संकलनका क्रममा पत्रकारहरु विक्रम राई र सुनिल राईमाथि आक्रमण तथा उनीहरुको क्यामरा तोडफोड गरिएको थियो

जनसम्मत
असाेज २४, २०८१, बिहीवार

उदयपुरमा क्रियाशील पत्रकार विक्रम राई र सुनिल राईमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघका कार्यवाहक महासचिव रोशन पुरीद्धारा जारी प्रेस विज्ञप्तिमार्फत समाचार संकलनका क्रममा उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिक र पूर्णपुष्टि डटकम तथा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकारहरु विक्रम राई र सुनिल राईमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको हो।

खानेपानीको शिलप्याक जारभित्र अखाद्य वस्तु भेटिएको विषयवस्तुमाथि समाचार संकलनका क्रममा पत्रकारहरु राईद्वयमाथि आक्रमण गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।

महासंघ उदयपुर शाखाका अनुसार असोज २३ गते (बुधबार) उदपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको चमेनागृहमा रहेको रौता स्प्रिङ वाटर प्रा.लि.बाट उत्पादित खानेपानीको शिलप्याक जारभित्र कुखुराको प्वाँखलगायत अखाद्य सामग्री भेटिएको थियो।

समाचार संकलनका लागि उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको पानी उत्पादक कम्पनीमा पुगेर भिडियो खिच्ने क्रममा पत्रकारद्वयमाथि संचालक पर्शुराम चौधरी र उनका परिवारजनले आक्रमण गरी पत्रकारको क्यामेरा तोडफोड र मोबाइल नियन्त्रणमा लिएको शाखाले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जन स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने खानेपानीमा भेटिएको अखाद्य सामग्रीबारे नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारमाथि भएको हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य हो।’

विज्ञप्तिको अगाडि भनिएको छ, ‘महासंघ घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसलाई निर्वाध र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, जन स्थास्थ्यसँग जोडिएको खानेपानीको विषयमा खेलबाड र लापर्बाही गर्ने कम्पनीको गुणस्तरको छानबिन गरी आवश्यक कारबाहीका लागि ध्यानाकर्षणसमेत गराउँदछ।’

हेरौं, विज्ञप्ति