घरेलु नेपाल महिला साफ च्याम्पियनसीपमा भुटानसँग भिड्दै

५ पटक च्याम्पियनसीपको फाइनल पुगेको नेपाल हालसम्म उपाधिविहीन छ

जनसम्मत
कार्तिक २, २०८१, शुक्रबार

घरेलु नेपाली टोलीले आज (शुक्रबार) महिला साफ च्याम्पियनसीपको पहिलो चरणको पनि पहिलो खेल भुटानसँग खेल्दैछ।

समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ।

अघिल्लो संस्करणमा पनि नेपालले आफ्नो पहिलो खेलमा भुटानको सामना गरेको थियो।

उक्त खेलमा नेपाली सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको थियो।

अहिलेसम्मको नेपाल–भुटानको ४ भेटमा नेपाल अपराजित छ।

साफ माहिला च्याम्पियनसिपमा नेपाल र भुटानको पहिलो भेट सन् २०१४ मा समूह चरणमा भएको थियो।

उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो।

सोही खेलमार्फत सावित्राले साफमा डेब्यु गरेकी थिइन्।

उनले ८८ औं मिनेटमा महिला साफको डेब्यु गोलसमेत गरेकी थिइन्।

त्यसको २ वर्षपछि भारतमा भएको चौथो संस्करणको महिला साफमा पनि नेपाल र भुटान समूहचरणमै भिडेका थिए।

उक्त खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो।

सो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले दोहोरो ह्याट्रिक (६ गोल) गरेकी थिइन्।

उक्त च्याम्पियनसीपमा साबित्राले १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन्।

उक्त च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल भारतसँग १–३ ले पराजित बनेको थियो।

तेस्रो संस्करण २०१९ मा नेपालकै विराटनगरमा भएको थियो।

सो खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो।

चौथो संस्करणको खेल काठमाण्डौंको दशरथ रंगशालामा भएको थियो।

सो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो।

हालसम्मको ४ भेटमा नेपालले भुटानलाई २३ गोल गरेको छ।

नेपालले भुटानको १ गोलपनि खाएको छैन।

आज (शुक्रबार) कै दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स खेल्दैछन्।

च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स, र बंगलादेश गरी ७ देशले प्रतिस्पर्धा गर्दैछन्।

कात्तिक १४ गतेसम्म च्याम्पियनसीपका खेलहरु चल्नेछन्।

नेपाल अहिलेसम्म ५ पटक महिला साफ च्याम्पियनसीपको फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन।

महिला साफ च्याम्पियनसीपको सबैभन्दा सफल टोली भारतले ५ पटक उपाधि जितेको छ।

यस्तै, बंगलादेशले १ पटक उपाधि जितेको छ।

तस्बीरः अब खेल्छ नेपाल फेसबुक पेजबाट