गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्धारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरुको जोड

जनसम्मत
कार्तिक १, २०८१, बिहीवार

वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखेका छन्।

प्रगतिशील लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठीमा बोल्दै रेग्मीले भने, ‘वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न। वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले यसले वर्गीय पक्षधरता अँगाल्दछ।त्यसकारण, जुन साहित्यकारले सर्वहारा पक्षधरतालाई आत्मसात गर्दैैन र जसले उत्पीडित जनताको मुक्तिको दर्शन माक्र्सवादलाई स्वीकार्दैन, त्यो प्रगतिशील साहित्यकार हुन सक्दैन। र, त्यसले प्रगतिशील साहित्यको सिर्जना पनि गर्न सक्दैन।’

जनताको गरिबी, दासता, दुःख, पीडा, छटपटी आदिलाई उजागर गर्ने र उत्पीडनको विरोध गर्ने विषयवस्तु मात्र प्रगतिशील साहित्य नभई त्यसमा मुक्तिको दिशाबोधसमेत गरिएको हुनुपर्ने उनको भनाई थियो।

देशको वाम राजनीतिक आन्दोलन फुट र विभाजनबाट गुज्रिएकाले त्यसको प्रभाव प्रगतिशील साहित्यको क्षेत्रमा पनि परेको रेग्मीले उल्लेख गरे।

गण्डकीमा सांगठनिक दृष्टिले प्रगतिशील साहित्यको अपेक्षित विकास हुन नसकेको उनको टिप्पणी थियो।

गोष्ठीपत्रमाथि टिप्पणी गर्दै प्राडा. यदुनन्दन उपाध्यायले गोष्ठीपत्रले गण्डकीको प्रगतिशील साहित्यबारे आम मानिसमा चासो बढाउन सहयोग गरेको धारणा राखे।

गोष्ठीपत्रमा समेट्नुपर्ने थुप्रै विषयवस्तु छुटेको बताउँदै उनले सहभागीको सुझावलाई ध्यानमा राखेर गोष्ठीपत्रलाई अन्तिम रूप दिनुपर्ने बताए।

प्रलेस, गण्डकीका अध्यक्ष यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसकी केन्द्रीय सदस्य कल्पना ढकाल, कवि रमेश श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, संघका गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष लोकबहादुर थापा, माक्र्सवादी अध्ययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, ¥यान्डम रिडर्स सोसाइटीका सचिव नेपालप्रकाश अधिकारी, साहित्यकार शेषमणि आचार्य, नुमराज बराल, स्ट्रगल राना, छवि सुवेदी, बाबुराम पन्त, यमबहादुर पौडेल क्षेत्री, राजेन्द्र तिवारी, विकास लुङ्गेली, कालिदासलगायतले शुभकामना तथा सुझाव दिएका थिए।

रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा उनीहरूले जोड दिए।

कोषाध्यक्ष निर्मल सापकोटाले कार्यक्रम संचालन गरेका थिए।