महिला साफ च्याम्पियनसीपमा नेपालले भुटानसँग बराबरी खेल्यो

बराबरी खेलेसँगै नेपाल–भुटान दुबैसँग बराबरी समान १/१ अंक छ

जनसम्मत
कार्तिक २, २०८१, शुक्रबार

घरेलु नेपालले महिला साफ च्याम्पियनसीपमा भुटानसँग गोलरहित बराबरी खेलेको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको समूह ‘बी’ अन्तर्गतको लिग चरणको पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको हो।

बराबरी खेलेसँगै नेपाल–भुटान दुबैसँग बराबरी समान १/१ अंक छ।

घरेलु मैदानमा भुटानलाई निरन्तर दवावमा राखेको नेपालले गोल गर्ने धेरै मौका गुमायो।

अन्तिमसम्म पनि दवावमा रहेको भुटानले दोश्रो हाफमा भने आफ्नो खेलमा निकै सुधार गरेको थियो।

पटक–पटकको प्रयास असफल भएपछि नेपालले भुटानसँग बराबर अंक बाँड्न बाध्य बन्यो।

हालसम्मको ५ भेटमा भुटानले नेपालको गोल नखाएको यो पहिलो खेल बन्यो।

यसअघिका नेपालसँगको ४ खेलमा भुटानले २३ गोल व्यहोर्दा नेपाललाई १ गोल पनि चखाउन सकेको थिएन।

समुह ‘बी’ मा रहेको नेपाल र भुटानले बरावरी खेलेपनि आजै भएको पहिलो खेलमा श्रीलंकाले मालदिभ्सलाई हराएर ३ अंक जोडिसकेको छ।

हिँजो (बिहीबार) भएको समुह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई हराउँदै ३ अंक जोडेको थियो।

च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्स, र बंगलादेश गरी ७ देशले प्रतिस्पर्धा गर्दैछन्।

कात्तिक १४ गतेसम्म च्याम्पियनसीपका खेलहरु चल्नेछन्।

नेपाल अहिलेसम्म ५ पटक महिला साफ च्याम्पियनसीपको फाइनलमा पुगेपनि उपाधि भने जित्न सकेको छैन।

महिला साफ च्याम्पियनसीपको सबैभन्दा सफल टोली भारतले ५ पटक उपाधि जितेको छ।

यस्तै, बंगलादेशले १ पटक उपाधि जितेको छ।

तस्बीरः एन्फा