अब, नागरिक एप चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

यो प्रस्ताव संचार तथा सूचना प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो

जनसम्मत
कार्तिक ४, २०८१, आइतबार

मन्त्रिपरिषद्ले नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने’, निर्णयमा लेखिएको छ।

यो प्रस्ताव संचार तथा सूचना प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज सेढाईका अनुसार यसमा मुख्यतः ३ विषय समेटिएका छन्।

यसअन्तर्गत नागरिक एपमा प्रयोगकर्ता दर्ता गर्दा राष्ट्रिय परिचयपत्रको आधारमा दर्ता गर्नुपर्ने, नागरिक एपमा प्रयोगकर्ताले आफ्नो नाम, ठेगाना, लिङ्ग र राष्ट्रिय परिचयपत्र नम्बरजस्ता विवरण हेर्न सक्ने र कुनैपनि सेवाका लागि नागरिक एपबाट आवेदन दिने क्रममा राष्ट्रिय परिचयपत्रको भेरिफाइड डेटा प्रयोग गर्न सकिनेछ।

यससँगै अबको केही समयमा नागरिक एपमा राष्ट्रिय परिचयपत्रको विकल्प देखिने बताइएको छ।