साविक विजेता बंगलादेशले महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ।
साविक उपविजेता भारतलाई पछि पार्दै बंगलादेख समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।
समूह ‘ए’ अन्तर्गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३–१ ले हराउँदै प्रतियोगितामा समूह विजेता बन्यो।
यो जितसँगै बंगलादेश २ खेलबाट ४ अंकका साथ समूह विजेतासमेत बन्यो।
भारत २ खेलबाट ३ अंकका साथ उपविजेता बन्दा २ खेलबाट १ अंक जोडेको पाकिस्तान भने समूह चरणबाटै बाहिरियो।
दुबै टिमले पहिलो हाफमा गोल गरेपनि दोस्रो हाफमा गोल गर्न असफल भए।
साविक विजेताको जितमा तोहुरा खातुनले २ तथा अफिदा खान्दाकरले गोल गर्दा भारतका लागि बालादेवीले एकमात्र गोल गर्न सफल बनिन्।
बंगलादेशले १८ औं मिनेटमा कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षक पान्थोइ चानुको फितलो पन्च अफिदा खान्दाकर नजिकै ड्रप हुँदा उनले सहज गोल गरिन्।
२९ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो।
बायाँ विंगबाट ऋतुको क्रसमा गोलरक्षक पान्थोइ चानुले बल रोक्न नसक्दा तोहुराले गोल गर्दा भारत २–० ले पछि परेको थियो।
४३ औं मिनेटमा बंगलादेशले तोहुराको उत्कृष्ट गोलमा बंगलादेशले अग्रता फराकिलो बनायो।
साम्सुनाहरले पेनाल्टी क्षेत्र नजिकबाट दिएको पासलाई तोहुराले हाफ भलीमा सट लिँदै सुन्दर गोल गरिन्।
त्यसको १ मिनेट नबित्दै भारतले गोल फर्काएपनि समूह विजेताका लागि पर्याप्त भएन।
डालीमा छिब्बरले दायाँ विंगबाट दिएको क्रस रुपना चक्माको हातबाट फुस्किएपछि बालादेवीले बललाई भुइँमा खस्न नदिई बललाई पोस्टको दिशा दिएकी थिइन्।
दोस्रो हाफमा दुबै तर्फबाट थप गोल हुन सकेन्।