नेपाल समूह ’बी’ को विजेता बन्दै महिला साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो।
नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता रानामगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १÷१ गोल गरे।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
भुटान समूह ’बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो।
समूह ’ए’ बाट बंगलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन्।
अब, सेमिफाइनलमा नेपालले भारतसँग र बंगलादेशले भुटानसँग खेल्नेछ।
सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ।
साफ महिला च्याम्पियनसीपको फाइनल खेल आउँदो बुधवार हुनेछ।
तस्वीर: एन्फा