घरेलु नेपालले महिला साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ।
सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल यात्रा बनाएको हो।
निर्धारित समयको खेल १–१ को बराबरी सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
यसअघि, एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्।
खेलको ‘प्लेयर अफ दि म्याच’ पनि साबित्रा भण्डारी ‘साम्बा’ नै बनिन्।
यसअघि, भारतले खेलको ७० औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो।
खेलको ७० औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल सुरु गरेर गोल फर्काएको थियो।
तर, रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो।
भारतले सुरुवाती गोल गरेसँगै साबित्रा भण्डारी ‘साम्बा’ ले बल सुचारु गरेर निकालिदिएको क्रस बललाई प्रिती राईले ‘लामो वान टच’मै टाढाको खाली गोलपोस्टमा गोल गरेकी थिइन्।
रेफ्री डेकी वानचेकी निर्णय फेर बदल भएपछि लामो विवाद भएको थियो।
लामो विवाद भएपछि खेल १ घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो।
त्यसअघि, खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेंलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो।
अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्नेछ।
यसअघि, पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनल पुगिसकेको छ।