तिहारमा स्वदेशी फूललाई जोड दिउँः कृषि मन्त्री श्रेष्ठ

पोखराको प्रदर्शनी केन्द्रमा पुष्प मेला सुरु, कार्तिकको १६ गतेसम्म फूलहरुको प्रदर्शनी चल्नेछ

जनसम्मत
कार्तिक १२, २०८१, सोमबार

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन्।

‘स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीवीसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिउँ’, मन्त्री श्रेष्ठको भनाई छ।

पोखरामा सोमबारदेखि सुरु गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेलाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले देशको अर्थतन्त्रलाई टेवा पुग्ने काममा लाग्न आग्रह गरिन्।

उनले थपिन, ‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ। यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ।’

नजिकिदै गरेको फूलहरु समेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ।

‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन। केही समयअघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ। तर,

मिलेसम्म र उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’ मन्त्री श्रेष्ठले आग्रह गरिन्।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रदर्शनी तथा मेला कार्तिक १६ गतेसम्म संचालन हुनेछ।