पोखराको हेम्जादेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ बस सेवा सुरु

कोइली ट्राभल्स प्रालिले २ करोड लगानीमा सुतेरै यात्रा गर्न सकिने थप २ (स्लिपर बस) सेवा संचालनमा ल्याएको हो

जनसम्मत
कार्तिक १२, २०८१, सोमबार

पोखराको हेम्जादेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ वस सेवा संचालनमा आएको छ।

कोइली ट्राभल्स प्रालिले २ करोड लगानीमा सुतेरै यात्रा गर्न सकिने थप २ (स्लिपर बस) सेवा संचालनमा ल्याएको हो।

उक्त बसमा एसीसहित सोफा सिट जडान गरिएको छ।

बसमा ८ वटा सिटमा सुतेर यात्रा गर्न सकिनेछ।

त्यस्तै, १६ वटा सोफासहितको सुविधायुक्त सिट छन्।

उक्त बसमा यात्रुले खाजा, पानी र चियाको समेत सेवा प्राप्त गर्नेछन्।

उक्त बसबाट यात्रा गर्दा एक यात्रुले १६०० रुपैयाँ भाडा तिर्नुपर्ने छ।

कोइली ट्राभल्स प्रालिका संचालक मेघराज त्रिपाठीले नयाँ बस सेवा भोली (मंगलबार) देखि सुचारु हुने जनाए।

सो बस सेवा पृथ्वी राजमार्ग बस संचालक कम्पनी अन्तर्गत संचालन हुने अर्का संचालक अशोककुमार चौधरीले बताए।

बस सेवा संचालनको आज (सोमबार) ओपचारिक उद्घाटन गरेर आज नै पोखराको जिरो किलोमिटरदेखि हेम्जासम्म डेमो गरिएको थियो।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीका संरक्षक केशवप्रसाद अधिकारीले नयाँ बस सेवाको उद्घाटन गरेका हुन्।

अधिकारीले कार्यक्रममा बोल्दै अव यात्रुले पृथ्वी राजमार्ग बस संचालक कम्पनीमा आवद्ध बसहरुमा यात्रुले चाहेअनुसारको बस सेवा लिन सक्ने सुविधा प्राप्त भएको दाबी गरे।

वर्तमान जटिल अवस्थामा समेत पृथ्वीराजमार्ग बस संचालक कम्पनीप्रति विश्वास गरी व्यवसायीले लगानी गर्नु निजी क्षेत्रको लागि ठूलो उपलब्धी भएको उनले जनाए। सुविधायुक्त बाटोघाटो र व्यवसायीक वातावरण राज्यले बनाउनुपर्नेमा उनको माग थियो।

पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पृथ्वी राजमार्ग बस संचालक कम्पनीमार्फत सुविधायुक्त बस थपिने क्रम जारी रहेको उल्लेख बताए।

अब कम्पनीबाट देशभर सुविधायुक्र बस सेवा प्राप्त हुने उनले जानकारी दिए।

वर्तमान अवस्थामा पनि भविष्यको आसाले व्यवसायीले लगानी गरेको उनले उल्लेख गरे।

प्रालि अन्र्तगत हाल ५० भन्दा बढी बस सेवा संचालनमा आएको छ।

पोखरा–काठमाण्डौं रुटमा खाजा, खाना, चिया, चिसोसहितको सेवामा २५ सयसम्मको शोफा बस सेवा संचालनमा छन्।