पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार प्रदान गरिएको छ।
बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४ औं स्मृति सभामा हिमाली सांस्कृतिक परिवारलाई पुरस्कार प्रदान गरिएको हो।
जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालको आयोजनामा सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहको आयोजना गरेको हो।
साहित्यकार सरुभक्त, डा. नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, महिला सशक्तीकरणका अभियन्ता रामकली खड्काले संयुक्त रूपमा उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
संस्थाद्वारा संचालित पुरस्कार राशि १० हजार १ सय ११ रुपैयाँ छ।
साहित्यकार सरुभक्तले सिद्धि गौचन नाम र काम दुवैले प्रसिद्धि कमाएका प्रतिभाको स्मृतिमा स्थापित पुरस्कारबाट हिमाली सांस्कृतिक परिवार पुरस्कृत हुनु गौरवको विषय रहेको बताए। उनले थपे, ‘सिद्धि गौचन बहुआयामिक मात्र नभएर, बहुभाषिक प्रतिभा पनि हुनुहुन्थ्यो। जुन समय अंग्रेजी विषयकै प्राध्यापकको वाककलाभन्दा उत्कृष्ट अंग्रेजी बोल्नु हुन्थ्यो।’
पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनले सिद्धी गौचन आफ्नी धर्मपत्नी मात्र नभएर, परिवारमा पनि लोकप्रिय पात्रका रूपमा रहेको स्मरण गरे।
आफूलाई आजको विश्वमोहन गौचन बनाउन उनले गरेको योगदानलाई जीवन्त तुल्याउन कोष स्थापना गरेर स्मरण गर्दै आएको सुनाए।
गण्डकी प्रज्ञा–प्रतिष्ठान कुलपति सूर्य खड्का ‘बिखर्ची’ले राज्यको दृष्टिकोष अझै पनि स्रष्टा साधकप्रति सकारात्मक नभएकाले निरन्तर कलमले खबरदारी गर्न आवश्यक रहेको औंल्याए।
पुरस्कृत प्रतिभा हिमाली सांस्कृतिक परिवार अध्यक्ष ज्ञानबहादुर थापाले हिमाली सांस्कृतिक परिवार स्थापनाकालदेखि अविच्छिन्न नेपाली मौलिक कला, लोकसंस्कृति, लोपोन्मुख नेपाली नृत्य तथा बाजाको संरक्षणमा अगाडि बढ्दै गर्दा यस्ता सम्मान र पुरस्कारले उत्साह थप्ने बताए।
प्रतिभा चयन समिति संयोजक कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषबाट प्रत्येक २ वर्षमा महिला सशक्तीकरण, घरेलु उद्योग, सिलाईबुनाई, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायत विविध क्षेत्रमा जीवन समर्पण गरेका प्रतिभा र संस्थालाई पुरस्कृत गर्दै आएको बताए।
सो कार्यक्रममा संस्था अध्यक्ष डा.नारायणप्रसाद अधिकारी, पूर्व सम्मानित प्रतिभा डा. वसन्त ताम्राकार, महिला सीप विकास केन्द्रकी संस्थापक पूर्व सम्मानित प्रतिभा रामकली खड्का, थकाली सेवा समिति पोखरा अध्यक्ष तेजेन्द्र तुलाचन, प्राध्यापक ज्योति भट्टचन, लुम्ले कविता गाउँका अध्यक्ष भरत देवकोटा, प्राडा यमबहादुर पौडेल क्षत्रीलगायतले बोलेका थिए।
साहित्यकार एवं पत्रकार असफल गौतमले संस्थाका गतिविधिबारे प्रकाश पारे।
सो अवसरमा हिमाली सांस्कृतिक परिवारका कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने श्रीकृष्ण शर्माले रचना प्रस्तुत गरेका थिए।