लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग ३७ रनले पराजित

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ५ बलमा २४४ रनमा अलआउट भयो

जनसम्मत
कार्तिक १७, २०८१, शनिबार

आइसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ५ बलमा २४४ रनमा अलआउट भयो।

नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए।

यस्तै, सोमपाल कामीले ४६ रन बनाए।

अमेरिकाका सौरभ नेत्रावलकरले ४ विकेट लिए।

त्यसअघि, डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएको थियो।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए।

यस्तै, कप्तान मोनांक पटेलले ६७ रन जोडे।

हरमित सिंहले ५९ रन थपे।

नेपालका गुलशन झाले ३ विकेट लिए।

यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए।

कुशल भुर्तेलले १ विकेट लिए।

लिग–२ अन्तर्गत यो श्रृंखलाको पहिलो खेलमा पनि नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो।

नेपालले आफ्नो दोश्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

तालिकाको सातौँ स्थानमा रहेको नेपालको ११ खेलमा ५ अंक छ।

१२ खेलमा १६ अंकका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

अब, नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा भोलि स्कटल्याण्डसँग खेल्नेछ।

तस्बीरः क्यान