नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले डा. आचार्यलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो।
उक्त बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो।
यसैगरी, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ।
डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।
यस्तै, विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन्।
अर्का सदस्य भण्डारी प्रेस काउन्सिल नेपालकी पूर्व सदस्य हुन्।
ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ।
यही व्यवस्थाअनुसार सिफारिस समितिले उनीहरूको नाम प्रस्ताव गरेको हो।
जसलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ खुवाउने कानुनी व्यवस्था छ।
समितिको सदस्य सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन्।