यु–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो जित

नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित निकाल्यो

जनसम्मत
कार्तिक २२, २०८१, बिहीवार

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रंगशालामा आज (बिहीबार) भएको खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित हासिल गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो।

कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन्।

उनले १७ बलमा २ चौका प्रहार गर्दै १२ रन बनाइन्।

कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

आयशा इकबाल पेवेकरले ३ बलमा २ रन बनाएर आउट भइन्।

साराह जसवीले १२ बलमा ४ रन बनाइन्।

जिनिया अफरोज र स्वातिबा कुलदीपसिंह परमारले समान १/१ रन बनाए।

क्यान्डिस डायस, रेलिन मारिया डी सुजा, ईशान्वी मोहनसिंह, पर्ल सेरेना साइमन, खादिजा जाहिर हुसेन र अमिषा राम ओलाचेरी शून्य रनमा आउट भए।

नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले समान २/२ विकेट लिए।

त्यस्तै, कप्तान पूजा महतो, कृश्मा गुरुङ, मनिषाकुमारी उपाध्यायले समान १/१ विकेट लिए।

यो खेलमा कुवेतले अतिरिक्त २ रन पायो।

त्यसअघि, नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन्।

उनले ३८ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाइन्।

साना प्रवीणले १८ बलमा २५ रन बनाइन्।

उनले सो क्रममा ५ चौका प्रहार गरिन्।

ज्योत्सिन्का मरासिनीले १८ बलमा १ चौकाको मद्दतले २३ रन बनाइन्।

नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान ६/६ रन बनाए।

सीमा केसीले ४ रन बनाइन्।

नेपालका लागि कृश्मा गुरुङले १ रनको योगदान दिइन्।

रचनाकुमारी चौधरी र रिया शर्माले १ रन पनि जोड्न सकेनन्।

नेपालले अतिरिक्त १६ रन प्राप्त गरेको थियो।

कुवेतका लागि आयशा इकबाल पेवेकरले २ र जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान १/१ विकेट लिए।

यससँगै कुवेतले लगातार दोस्रो हार बेहोरेको छ।

बुधबार युएईले १०६ रनको अन्तरले कुवेतलाई हराएको थियो।

यो जितसँगै नेपालले अब शनिबार यूएईसँग खेल्नेछ।

छनोट खेलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्।

सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ।

तस्बीरः क्यान