क्रसकन्ट्री दौडन चिनियाँ खेलाडी चार्टर्ड विमानबाट पोखरा आइपुगे

चार्टर्ड फ्लाइटबाट आएका १२० मध्ये ६४ जना धावक छन्

जनसम्मत
कार्तिक २२, २०८१, बिहीवार

 

पोखरामा आयोजना हुने क्रसकन्ट्रीमा दौडन चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत आज (बिहीबार) पोखरा आई पुगेका छन्।

हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिन आएका चिनियाँ खेलाडी चीनको कुनमिङबाट खेलाडी सिचुवान एयरलाइन्सको चार्टर्ड विमानमार्फत आज दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

जहाजमा १२० जना चिनियाँ नागरिक पोखरामा उत्रिएको विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले जानकारी दिएकी छन्।

चीनबाट १३४ जना आउने भनिएपनि १४ जना कम आएको बताइएको छ।

तीमध्ये ६४ जना धावकहरु छन्।

बाँकी क्रस कन्ट्रीका प्राविधिक र अफिसियलहरु छन्।

विमानस्थल संचालनमा आएको करिब २ वर्षको अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दोश्रोपटक अन्तर्राष्ट्रिय उडान भएको हो।

चीनको सिचुवान एअरलाइन्सले गत वर्षको असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो।

त्यसको १७ महिनापछि बिहीबार सिचुवान एअरलाइन्सले नै पोखरामा दोश्रो अन्तर्राष्ट्रिय उडान गरेको हो।

त्यतिबेला चीनको छेन्दु शहरबाट पोखरामा आयोजित ड्रागन बोट रेसमा सहभागी हुने खेलाडी लिएर सिचुवान एयरलाइन्सले नै चार्टर फ्लाइट गरेको थियो।

बिहीबार उक्त एअरलाइन्सले पोखरामा दोस्रो पटक चार्टर फ्लाइट गरेको विमानस्थलका सूचना अधिकारी सुवेदीले बताइन्।

योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि ८ वटा अन्तर्राष्ट्रिय उडान भएको छ।

पोखरामा शनिबार आयोजना गरिने अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली र चिनियाँ गरी १२ सय खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ।

प्रतियोगिता शनिबार बिहान लेकसाइडको बाराहीघाटबाट सुरू हुनेछ।

प्रतियोगितामा ५० किलोमिटर दूरी रहेको समुहगत र व्यक्तिगत प्रतिस्पर्धा हुनेछ।

छात्र/छात्राको विद्यार्थी दौडका लागि ५ किलोमिटर र ह्याप्पी रन समूह २ किलोमिटर दूरीमा दौड प्रतियोगिता हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जानकारी दिएका छन्।