स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो।
जसमा खेलकुदका विश्वकप क्रिकेटदेखि आइपीएल क्रिकेटसम्म प्रसारण हुँदै आएको छ।
नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण पनि स्टार स्पोर्ट्समार्फत गर्ने तयारी थालिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी थालिएको हो।
क्यान स्रोतले बताएअनुसार एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको छ।
एनपीएल लिगको प्रत्यक्ष प्रसारणका लागि स्टार स्पोर्ट्स नेटवर्क पनि ईच्छुक देखिएको क्यान स्रोतले जनाएको छ।
स्टार स्पोर्ट्स च्यानल विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो।
जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकमाझ प्रचार–प्रसार गर्ने विश्वास लिइएको छ।
आगामी मंसीर १५ देखि काठमाण्डौंमा फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) हुँदैछ।
प्रतियोगितामा विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट, कर्णाली याक्स, काठमाण्डौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स र सूदूरपश्चिम रोयल्स गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछ।
फ्रेन्चायज प्रिमियर लिग (एनपीएल) प्रतियोगिता पुसको ६ गतेसम्म चल्नेछ।