गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफू सम्पर्कविहीन नभएको बताएका छन्।
केही मिडियाहरुमा आफू सम्पर्कविहीन भएको समाचार आएकोले त्यस्ता समाचारहरु असत्य र भ्रामक रहेको मनाङेले उल्लेख गरेका छन्।
प्रदेशसभा सदस्य मनाङेले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्तिसमेत जनाएका छन्।
केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै केही संचारमाध्यमहरुले उनी सम्पर्कविहीन भएको समाचार बाहिर ल्याएको थियो।
उनले सर्वोच्चको फैसला आउँदाको दिनदेखि संचारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल स्वीच अफ गरेको विषयलाई भने स्वीकार गरेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यही विषयलाई लिएर विभिन्न संचारमाध्यमहरुमा भ्रामक समाचारहरु आइरहेको पाएको छु। यसमा मेरो आपत्ति छ।’
उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन्।
उनले फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछि अदालतमा स्वयं आफू उपस्थित हुने समेत जनाएका छन्।