यु–१९ महिला टी–२० विश्वकपमा युएईसँग नेपाल पराजित

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

घरेलु टोली युएईसँग नेपाल १३ रनले पराजित

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले पहिलो हार व्यहोरेको छ।

महिला विश्वकप एशिया छनोटको आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो।

युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्।

साना प्रविन र सोनी पाख्रिनले समान १९/१९ रन बनाए।

ज्योत्सिका मरासिनीले अविजित ११ रन बनाइन्।

युएईका मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १/१ विकेट लिए।

त्यसअघि, युएईको अजमानमा टस जितेर ब्यटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रनको बनाएको थियो।

युएईका लागि रनिथा रजिथाले सर्वाधिक ४८ रन बनाइन्।

नेपालका लागि रिया शर्माले ३ विकेट लिइन्।

सीमाना केसी, पूजा महतो र कृष्मा गुरुङले समान १/१ विकेट लिए।

यसअघि, लगातार २ खेल जितेको नेपालको यो पहिलो हार हो।

जितसँगै युएई ३ खेलबाट ६ अंककासाथ तालिकाको शीर्ष स्थानमा छ।

नेपाल समान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ।

नेपालले भोलि (आइतबार) थाइल्याण्डसँग खेल्नेछ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्।

सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्ष मुनीको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।

१९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

तस्बिर: क्यान