संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्।
‘खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउनुपर्छ, दुई देशबीचको गहिरो सम्बन्धले नै विकासको गतिमा अगाडि बढ्नेछ’, पोखरामा शनिबार आयोजना गरेको तेस्रो संस्करणको उद्घाटन मन्तव्यमा मन्त्री पाण्डेले जोड दिए।
उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गरे।
पोखरा महानगरपालिका, चिनियाँ दूतावास र हिमालयन टुरिजम फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै
मन्त्री पाण्डेले नेपाल सरकारले सन् २०२५ लाई नेपाल–चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिए।
‘पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउनेछन्, र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जानेछन्’, मन्त्री पाण्डेले भने।
उनले नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक रहेको औंल्याए।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा संचालन गर्न पहल भइरहेको समेत उल्लेख गरे।
मन्त्री पाण्डेले नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको औंल्याए।
उनले नेपालमा मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्धस्थल उल्लेख गरे।
‘नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी छ’, मन्त्री पाण्डेले उल्लेख गरे, ‘यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको छ।’
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
यसका लागि २ वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि संचालन गर्दै आएको राजदूत साङले बताए।
नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने उनले स्पष्ट पारे।
‘नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि भएका छन्’, उनले भने, ‘यस्ता कार्यले नेपाल र चीनबीचको मित्रतालाई थप उचाईमा लग्नेछ।’
क्रस कन्ट्री दौडको शुभारम्भ कार्यक्रममा खेलाडी, प्राविधिक, अफिसियल र विदेशी पाहूनाहरुलाई स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने उल्लेख गरे।
नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
यस्ता खेलकुदको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा अघि बढाउन सहज हुने उनले धारणा राखे।
राष्ट्रिय खेदकुद परिषद्का कार्यवाहक महासचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको संभावनालाई यस किसिमका प्रतियोगिताले टेवा पुग्ने धारणा राखिन्।
यसैबीच, गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित उक्त दौडको उद्घाटन कार्यक्रममा चीन सरकारले आफ्नो राजदुतावासमार्फत राष्ट्रिय खेलकुद परिषदलाई खेलकुद सामाग्री खरिदका लागि ७२ लाख नगद चेक हस्तान्तरण गरेको छ।
प्रतियोगिताअन्तर्गत पोखरास्थित लेकसाइडको बाराहीघाटबाट विभिन्न ४ विधामा प्रतिस्पर्धा भएका छन्।