पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न क्रियाशील पर्यटन व्यवसायीद्धारा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन्।
होटल संघ पोखरा नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालनको माग राखेका हुन्।
संघले मुख्य राजमार्गमा जारी स्तरोन्नति कार्यलाई पनि तीव्र रूपमा अघि बढाएर समयमै सम्पन्न गर्नुपर्ने मागसमेत राखेको छ।
पर्यटन व्यवसायका लागि हवाई र स्थलमार्गको विकल्प नभएकाले दुवै क्षेत्रको विकास र संचालनमा तीव्रता दिनुपर्ने पर्यटन व्यवसायीको माग छ।
नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने उनीहरुको माग छ।
ज्ञापन पत्रमा होटललाई उद्योगसरह मान्यता दिएर सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र ऊर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्नेलगायतका विषयलाई जोड दिइएको छ।
पर्यटन मन्त्री पाण्डेसमक्ष बुझाइएको ज्ञापन पत्रमा रात्रीकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरी यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने उल्लेख छ।
पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वको व्यवसायीहरुले मन्त्री पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाएका छन्।
पहारीको ज्ञापनपत्रमा पोखराबाट अन्तर्राष्ट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित संचालनको विषय उठाइएको छ।