पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना, स्वास्थ्यमन्त्री पौडेलद्वारा उद्घाटन

बृद्धाश्रममा संचालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवं औषधीका लागि सहयोग गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

पोखरा बृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको छ।

बृद्धाश्रमको व्यवस्थापनमा २ जना स्वास्थ्यकर्मीका साथै ९ बेड, थेरापी मेसिन एवं औषधी उपलब्धसहितको जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको हो।

पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटनसमेत गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो कक्षको उद्घाटन गरेका हुन्।

मन्त्री पौडेलले कार्यक्रममा बोल्दै पोखरा बृद्धाश्रममा संचालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवं औषधीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले स्वास्थ्य वीमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए।

उनले स्वास्थ्य वीमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनुु आवश्यक भएको बताए।

स्रोतको सुनिश्चिताका लागि आम्दानीको आधारमा वीमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुुपर्नेमा उनले जोड दिए।

मन्त्री पौडेलले देशको बजेटको ४ प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको उल्लेख गरे।

उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा थप्न आवश्यक भएको औंल्याए।

सरकारले १४ वर्ष मुनीका बालबालिकाको क्यान्सर रोगको निशुल्क उपचार, जलन रोगको निशुल्क उपचार जस्ता विषयलाई अघि सारेको मन्त्री पौडेलले बताए।

उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरेहको सुनाए।

पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रम संचालन भए यता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए।

ज्येष्ठ नागरिकहरूमा समस्याका रुपमा देखिने बिस्मृतिजन्य रोगको उपचारको लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए।

हाल, बृद्धाश्रममा १०६ वर्षीय नन्दु दहाल लगायत ज्येष्ठ नागरिकहरु छन्।