यु–१९ आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोटमा नेपालले थाइल्यान्डलाई हराएको छ।
युएईमा चलिरहेको क्रिकेट खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएको हो।
यसअघि, थाइल्यान्डलाई नै ६७ रनले हराएको नेपालको यो थाइल्यान्डमाथि दोस्रो जित हो।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो।
थाइल्यान्डका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यसैगरी, उसको ६ ब्याटरले १ रन पनि जोड्न सकेनन्।
नेपालकी कुशुम गोदारले ३ विकेट लिइन्।
रिया शर्मा र रचना चौधरीले समान २÷२ विकेट लिए।
कप्तान पूजा महतोले १ विकेट लिइन्।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।
नेपालका लागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन्।
यस्तै, सावित्री धामीले २८ रन बनाइन्।
सोनी पाख्रिनले १९ रन बनाइन्।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो।
नेपाल तेस्रो खेलमा हिँजो (शनिबार) युएईसँग भने १३ रनले पराजित भएको थियो।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्।
प्रत्येक टोलीले एकअर्कासँग २÷२ खेल खेल्नेछन्।
सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।
यु–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।