प्रेस रजिस्ट्रारबीच मिडिया व्यवस्थापनबारे छलफल

गण्डकीकी रजिस्ट्रार भण्डारी भन्छिन्, ‘संचार रजिष्ट्रार गण्डकीको नियमावलीहरू बन्दैछ, सम्बद्ध सबै निकायबाट सुझावको अपेक्षा गरिएको छ’

जनसम्मत
कार्तिक २३, २०८१, शुक्रबार

प्रेस काउन्सिल नेपालमा संघीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल भएको छ।

छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

उनले काममा दोहोरोपना हुन नहुने बताए।

मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय–समयमा छलफल भइरहनुपर्ने बस्नेतको बनाई छ।

गण्डकी प्रदेश प्रेस रजिस्ट्रार बिमला भण्डारीले संचार रजिस्ट्रार गण्डकीको नियमावलीहरू बन्दै गरेको उल्लेख गरिन्।

यसका लागि सम्बद्ध सबै निकायबाट सुझावको आशा राखेको भण्डारीले सुनाइन्।

साथै, सबै निकायको साझा उद्देश्य मिडियाको विकास नै भएकोले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन्।

बागमती प्रदेश प्रेस रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले संघीय संरचनामा स्थापित पहिलो संचार रजिस्ट्रारको कार्यालय बागमतीबारे प्रकाश पारे।

आफू पहिलो प्रेस रजिस्ट्रार बन्दा काममा थुप्रै अप्ठ्यारा, झन्झट व्यहोर्नु परेको उल्लेख सुनाए।

क्रमशः त्यसमा सुधार आएको सम्बन्धमा सापकोटाले बताए।

साथै मिडियाको सेवा प्रवाह र नियमनका सम्बन्धमा राष्ट्रिय आमसंचार मापदण्ड हुनुपर्ने र सोही आधारमा प्रदेश रजिस्ट्रारहरूले पनि कानून बनाएर लागु गर्नुपर्नेमा उनले जोड दिए।

यसो गर्दा सबै प्रदेशमा काममा एकरुपता आउने समेत उनको भनाई थियो।

यसका लागि संघीय निकायले एउटा सफ्टवेयर बनाएर नियमन गर्ने र प्रदेश संचार रजिस्ट्रारले सोहीमार्फत सेवा प्रवाह गरे राज्यले समेत मिडियाको सम्बन्धमा सधैँ अपटुडेट हुने अवस्था रहने उनको धारण थियो।

सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले न्यूज एजेन्सीहरूको व्यवस्थापन तथा नियमनका लागि समेत कानूनी रूपमा सम्बोधन गर्न जरुरी भएको बताए।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललले संचार रजिस्ट्रारको कार्य प्रक्रियाबारे चासो राखेका थिए।

आगामी दिनहरूमा समेत छलफल आयोजना गर्न समन्वय गर्ने उनको भनाई थियो।

मिडियासम्बद्ध निकायहरूको तथ्यांक आदान–प्रदान र छलफल कम्तिमा २ महिनामा एकपटक गर्ने व्यवस्था मिलाउने भूषालले प्रतिबद्धता जनाए।

सूचना तथा प्रसारण विभाग र संचार रजिस्ट्रारहरुमा दर्ता नवीकरण भई सूचीकरण/नवीकरण गर्न प्रेस काउन्सिलमा आएका अनलाइन मिडियाहरूको सम्बन्धमा देखिएका समस्या र समाधानका विषयमा रजिस्ट्राहरुलाई काउन्सिलले सुझाव दिएको थियो।

छलफलले मिडिया क्षेत्रको विकास र व्यवस्थापनका सम्बन्धमा संपूर्ण सरोकारवाला नियकाय र मिडियाहरूसमेतको उपस्थितिमा बृहत् छलफल आयोजना गर्ने निर्णयसमेत गरेको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको छलफलमा काउन्सिलका सह–प्रशासकीय अधिकृत रामशरण बोहरा र शाखा अधिकृत सुवास राईसमेतको उपस्थिति थियो।

प्रेस काउन्सिल नेपाल डट जीओभी डट एनपीमा समाचार र तस्बीर छ।