पोखरा बाटुलेचौरकी पद्मादेवी शर्मालाई महिला समाजसेवा पुरस्कार

ज्योति वस्नेतको नेतृत्वमा समूहको १५ सदस्यीय नयाँ समिति गठन

जनसम्मत
कार्तिक २४, २०८१, शनिबार

पोखरा–१६, वाटुलेचौरकी पद्मादेवी शर्मालाई यस वर्षको महिला समाजसेवा पुरस्कार प्रदान गरिएको छ।

मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै शर्मालाई अर्पण गरेकोे हो।

समुहकोे शनिवार २८ औं साधारणसभा तथा १३ औं अधिवेशनको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र समुहका अध्यक्ष मनु वस्नेतले शर्मालाई दोसल्ला ओढाएर नगद ५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे।

लामो समय शिक्षण पेशामा आवद्घ शर्माले अवकासपछि पनि महिला अधिकार, वालवालिका र शिक्षा क्षेत्रमा क्रियाशील रहेकी छन्।

समुहले सोही अवसरमा सीता खड्कासहित नारायणी थापा, दिप्ती थापा र योग्यता वस्नेतलाई विशेष सम्मान गरेको छ।

उनीहरुलाई वडासदस्य रामचन्द्र आचार्य, राजकुमारी वानिया, मन्जु नेपाली, मानार्थ सदस्य सरस्वती खड्का, सल्लाहकार जितवहादुर खड्का र डिलमाया वस्नेतले सम्मान गरे।

मन्त्री थापाले समाजसेवा पुरस्कार अक्षयकोषमा नगद ५१ हजार सहयोग गरे।

मन्त्री थापाले समाज रुपान्तरणमा महिला समुहको भुमिका महत्वपुर्ण रहेको वताए।

पुरस्कारले समाजसेवामा लाग्नेहरुलाई उर्जा थप्ने उनको भनाई छ।

सम्मानीत व्यक्तित्व शर्माले समाजसेवाको कुनै मूल्य र क्षेत्र नहुने वताइन्।

निस्वार्थ भावले गरिने कार्यले समाज अगाडि बढ्ने उनले स्पष्ट पारिन्।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्थानीय सरकार यस क्षेत्रका सामाजिक संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढेको वताए।

अधिवेशनले ज्योति वस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ समितिसमेत चयन गरेको छ।

प्रथम उपाध्यक्षमा अमृता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शिवशोभा खड्का, सचिवमा नारायणी वस्नेत, सह–सचिवमा दिपिका कार्की वस्नेत, कोषध्यक्षमा राधिका जिसी र सदस्यमा राधिका थापा, अम्विका श्रेष्ठ, सीता खड्का, देवु श्रेष्ठ, सावित्री वस्नेत, शर्मिला वस्नेत, देवी अधिकारी, अन्जु कार्की र शान्ती राना छन्।

अधिवेशनले समुहको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदनसमेत पारित गरेको छ।