यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले कुवेतमाथि शान्दार जित निकालेको छ।
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १६५ रनले हराएको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो।
कुवेतकी कप्तान जीफा जिलानीले सर्वाधिक ३६ रन बनाइन्।
नेपालकी कप्तान पूजा महतोले ५ विकेट लिइन्।
यस्तै, रचना चौधरी र सीमाना केसीले समान २/२ विकेट लिए।
यसअघि, युएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनायो।
नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन्।
५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १३० रन जोड्दै नटआउट रहिन्।
पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन्।
यस्तै, सोनी पाख्रिनले नटआउट ४२ रन बनाइन्।
कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान १/१ विकेट लिए।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो।
नेपाल तेस्रो खेलमा भने यूएईसँग १३ रनले पराजित भएको थियो।
नेपालले चौथो खेलमा थाइल्यान्डलाई १०६ रनले हराएको थियो।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्।
प्रत्येक टोलीले एक–अर्कासँग २/२ खेल खेल्नेछन्।
सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।
तस्बीरः क्यान