रुपन्देहीमा रवि लामिछानेको ३ दिनको बयान सकियो

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख र गोर्खा मिडिया नेटवर्कका नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ

जनसम्मत
कार्तिक २९, २०८१, बिहीवार

रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा ३ दिनको बयान सकिएको छ।

पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा आफ्नो संलग्नता ठाडै अस्वीकार गरेका छन्।

अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतैपनि सहभागी नभएको जनाएका छन्।

हरेक प्रश्नको सहजै जवाफ दिएको र सबै प्रश्नको जवाफमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

सहकारी रकमका विषयमा जीवी राई र सागर केसीलाई सोध्नसमेत जवाफ दिएका थिए।

२६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही ल्याइएको थियो।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो।

अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन्।

कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ।