भैरहवामा रवि लामिछानेको दोस्रो दिनको लिखित बयान सुरू

दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उपस्थित गराइएको छ

जनसम्मत
कार्तिक २८, २०८१, बुधबार

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज (बुधबार) दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा उपस्थित गराइएको छ।

हिँजो (मंगलबार) पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो।

आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिइने बताइएको छ।

रविको दोस्रो दिनको बयान सुरू भइसकेको छ।

बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिँजो (मंगलबार) रुपन्देही ल्याइएको थियो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध संगठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

रविले आफूले सहकारीबाट रकम नलगेको बयान दिएका छन्।

प्रहरीले यहाँबाट छिटो बयान सकेर रविलाई पोखरा पठाउने जनाइएको छ।

सुप्रिम सहकारी ठगीको मुद्दा इलाका प्रहरी कार्यालय बुटवलले हेरिरहेकाले बयानमा पनि बुटवलकै प्रहरी अधिकृत छन्।