फ्रान्सेली राजदूत भिर्जिनी–पोखरा महानगर प्रमुख आचार्यबीच भेटवार्ता

विशेषगरी, अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल

जनसम्मत
कार्तिक २९, २०८१, बिहीवार

नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्टेभालले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेकी छिन्।

पहिलो पटक पोखरा आएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्यबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ।

विशेषगरी, अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रीत भएको नगर प्रमुख आचार्यले बताए।

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए।

त्यसको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण गरिएको इतिहास छ।

हर्जोगले अन्नपूर्ण–१ (प्रथम) हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पूरा भएको छ।

सन् २०२५ मा हिमाल आरोहणको ७५ औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताए।

हर्जोगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेका थिए।

भेटवार्तामा अन्नपूर्ण हिमालको सफाई अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराबीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवद्र्धन तथा विकासमा सहकार्य गर्नेलगायतका विषयमा पनि छलफल भएको छ।

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको समेत सहभागिता थियो।

पोखरा महानगरपालिका फ्रान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाई अभियानदेखि समग्र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताए।