जापानका सांसदलगायत पोखरा महानगर प्रमुख आचार्यबीच भेतवार्ता

भेतवार्तामा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान–प्रदानलगायतका विषयमा समेत छलफल भएको थियो

जनसम्मत
कार्तिक २९, २०८१, बिहीवार

जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ।

सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगरप्रमुख आचार्यसँग भेटवार्ता गरेको हो।

भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानबीचमा निकै लामो समयदेखि श्रम तथा प्रविधिको आदान–प्रदान हुँदै आइरहेको उल्लेख गरे।

पोखरामा जापान सरकारको तर्फबाट निकै महत्वपूर्ण परियोजनाहरू संचालनमा रहेको आचार्यले जनाए।

उनले भविष्यमा समेत संचालन गर्नेगरी कयौँ दूरगामी महत्वका परियोजनाहरूमा समझदारी भएको उल्लेख गरे।

जापानमा रोजगारी तथा अध्ययनका सिलसिलामा ठूलो संख्यामा पोखरेली नागरिकहरू गएको र त्यहाँ उनीहरूले राम्रो उपलब्धी हासिल गरिरहेको उनले बताए।

पछिल्लो समय पोखरा महानगरपालिकाले दक्ष जनशक्ति तयार गर्न आवश्यक भाषा तथा सीपमूलक तालिमका कक्षाहरू संचालन गरेको उनले बताए।

विभिन्न साझेदारहरूसँगको सहकार्यमा भाषा तथा सीप विकासका कक्षाहरू संचालन गरिएको नगर प्रमुख आचार्यले जनाए।

जापान नेपाली श्रमिक तथा विद्यार्थीहरूका लागि समेत आकर्षक गन्तव्य बनिरहेको उनको भनाई थियो।

जापानी टोलीले जापानमा केयर गिभरका लागि श्रमिकहरू अभाव रहको जनाए।

सीपयुक्त जनशक्ति भए आफूहरू त्यसमा आवश्यक प्रक्रिया अगाडी बढाउन तयार रहेको जापानी सांसदलगायत व्यवसायीहरुले जनाएका छन्।

जापानमा ज्येष्ठ नागरिकहरूको हेरचाह केन्द्र संचालन गरिरहेका उनीहरूले नेपाली श्रमिकहरूको आतिथ्ययताले निकै प्रभावित भएको उल्लेख गरे।

त्यसमा आफूहरू थप श्रमिकहरू लैजान ईच्छुक रहेको उनीहरुको भनाई छ।

टोलीमा जापानका ४ जना सांसदसहित १६ जनाको सहभागिता थियो।

सो क्रममा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान–प्रदानलगायतका विषयमा समेत छलफल भएको थियो।